वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ


काठमाडौँ । काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका–५, उदयपुर घर भई हाल नयाँ बसपार्क बस्ने ३१ वर्षीय चुरन मगर, शुक्लागण्डकी नगरपालिका–५, तनहुँ घर भई गोंगबु बस्ने ३३ वर्षीय राज कुमार गुरुङ, बर्दिवास नगरपालिका–३, महोत्तरी घर भई नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप नगरपालिका–५, रामेछापका ३१ वर्षीय विजय बाबु घिसिङ रहेका छन् । 

प्रहरी वृत्त बालाजुबाट खटिएको खोजतलास टोलीले गत साउन २२ गते नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले ७ थान मोबाइल, ५७ हजार ९६ रुपैयाँ नगद, २ थान ताल्चा र १ थान ह्याक्सो ब्लेडसमेत बरामद गरेको छ । 

पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।