मन्त्री लम्सालले गरे गुल्मी अस्पताल भवन निरीक्षण,निर्माणमा ढिलाइप्रति जनाए असन्तुष्टि


गुल्मी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित गुल्मी अस्पताल भवनको आज अनुगमन तथा निरीक्षण गरेका छन् ।

लामो समयदेखि निर्माणाधीन अस्पताल भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले भवन निर्माणको भौतिक प्रगति, गुणस्तर तथा हालसम्म भएका कामका बारेमा जानकारी लिए । अनुगमनका क्रममा अस्पताल निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर भए पनि काम अघि बढाउन निर्देशन दिए ।

गुल्मी अस्पताल भवन निर्माणको भौतिक प्रगति हालसम्म ९२ प्रतिशत पुगेको बताइएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार १८ गते सम्झौता भई काम सुरु गरिएको भवन निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप हुँदै आएको छ । रु २५ करोड ९४ लाखको लागतमा स्वच्छन्द–बानियाँ जेभी, हेटौँडा, मकवानपुरले भवन निर्माणकोे जिम्मेवारी लिएको छ ।

पछिल्लो पटक उक्त भवन निर्माण सम्पन्न गर्नका लागि पाँचौं  पटक म्याद थप गरिएको छ । उक्त कम्पनि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँकाे रहेकाे खुलेकाे छ ।