ग्यास कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ


सङ्खुवासभा, २४ साउन । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बुद्धचोकबाट खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरी एक व्यवसायीलाई पक्राउ गरेको छ ।

सरकारले तोकेको मूल्यभन्दा बढीमा एलपी ग्यास बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । खाना पकाउने ग्यास कालोबजारी गरेको आरोपमा खाँदबारी–१ स्थित बुद्धचोकबाट भोजपुरे भाडा पसलका लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए । 

व्यवसायी श्रेष्ठले यही साउन २३ गते उक्त पसलबाट खाना पकाउने एलपी ग्यास उपभोक्तालाई कायम बजार मूल्यभन्दा बढी प्रतिसिलिन्डर रु दुई हजार ३०० दरले बिक्री वितरण गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक अर्यालले बताए । 

विशेष सूचनाका आधारमा प्रहरीले टोली खटाइ जाँच तथा अनुसन्धान गर्दा तोकिएको बजार मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसुरमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सङ्खुुवासभाबाट तीन दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । रासस