बागलुङमा ग्यास वितरण सहज बनाइँदै


बागलुङ ।  बागलुङमा सडकबाट बाँडिदै आइएको ग्यास अब डिलरने नै वितरण गर्ने भएको छ । ग्यास आपूर्ती सहज बनाउन जिल्ला प्रशासनले कडाई गरेको छ । बागलुङमा आज एक हजार ९२२ सिलिन्डर एलपी ग्यास वितरण गरिने ग्यास बिक्रेता संघले जानकारी दिएको छ ।

जिल्लामा देखिएको एलपी ग्यास अभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङको पहलमा आइतबार सरोकारवाला निकायहरूको बैठकले ग्यास सडकबाट नभई बिक्रेताहरुबाटै ग्यास बितरण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बागलुङमा एक हजार १७० सिलिन्डर गृहलक्ष्मी र ७५२ सिलिन्डर शक्ति ग्यास गरी कुल एक हजार ९२२ सिलिन्डर ग्यास वितरणको तयारी गरिएको हो ।

बैठकले ग्यास आपूर्ति तथा वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले सदरमुकाम क्षेत्रमा रहेका १८ वटा एलपी ग्यास वितरकमार्फत नियमानुसार ग्यास वितरण गर्ने, वितरणका लागि छुट्टै फाराम तयार गरी प्रत्येक विक्रेताले उपभोक्ताको अभिलेख राख्ने निर्णय गरेको छ । बागलुङमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति तथा वितरणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र एलपी ग्यास बिक्रेता सङ्घले विभिन्न व्यवस्था लागू गरेका छन् ।

ग्यासको सहज वितरणका लागि अब उपभोक्ताले आफ्नो नजिकको आधिकारिक ग्यास विक्रेताबाट मात्र ग्यास लिन र ग्यास आए–नआएको विषयमा पनि आधिकारिक विक्रेतासँग सम्पर्क गरी जानकारी लिन प्रशासनले अनुरोध गरेको छ । बागलुङ बजारमा रहेका १८ वटा आधिकारिक बिक्री केन्द्रबाट उपभोक्ताको अभिलेख राखी ग्यास वितरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

ग्यास लिन जाँदा नागरिकता वा आफ्नो परिचय खुल्ने अन्य कागजात साथमा लैजानसमेत उपभोक्तालाई आग्रह गरिएको छ । प्रशासनले ग्यासको अनावश्यक सञ्चय नगर्न पनि अनुरोध गरेको छ । ग्यासको अवस्थाबारे अनुगमन गर्न टोली परिचालन गरिएको जनाउँदै अनावश्यक रुपमा ग्यास सञ्चय गरेको पाइएमा कारबाही गरिने चेतावनी दिइएको छ ।

यसअघि ग्यास लिएको अभिलेखसमेत विक्रेताले राखेकाले कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले अनावश्यक हल्लाको भरमा जथाभावी लाइन नबस्न प्रशासनले आग्रह गरेको छ । ग्यास विक्रेताले तोकिएको मूल्यभन्दा बढी रकम लिएको पाइएमा नजिकको स्थानीय प्रशासनलाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ । रासस