गगनलाई पूर्णबहादुरको अपील-व्यक्तिगत महत्त्वाकाङ्क्षा र अहङ्कारबाट मुक्त होऔँ !


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले आजको प्रथम अपरिहार्य आवस्यकता पार्टीको सम्पूर्ण एकता भएको बताएका छन्। आज सामाजिक सञ्जालमामार्फत उनले पार्टीमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गरी संवाद–सहमतिबाट सुदृढ एकता पूर्वसर्त हुनुपर्ने बताए।

‘पार्टीको आधिकारिकताको विवादका विषयमा सर्वोच्च अदालतले निस्सा दिएपछिको ३ दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका टिप्पणी हेर्दा साहृै चिन्तित बनाएको छ,’ आइतबार साँझ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भैरहेको अवस्था अनि कांग्रेस पार्टी ईतिहासमै सबैभन्दा बढि कमजोर र प्रतिकुल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली कांग्रेसको सम्पूर्ण एकता हो। यसका लागि हामी बिचमा सहिष्णुता, संवेदनशिलता र सहअस्तित्वको समभाव सिर्जना गरि संवाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो।’

वर्तमान भीमकाय चुनौतिहरूको सामना गर्नका लागि पार्टीका जिम्मेवार प्रत्येक व्यक्तिले आफ्ना व्यक्तिगत अस्वाभाविक महत्वाकाङ्क्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुन्ठाबाट मुक्त हुनुपर्ने उनको भनाइ छ।

सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरताका लागि अघि बढ्न खड्काको आग्रह छ।