काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबिच बलियो साझेदारी हुनुपर्ने बताएका छन्।
सोमबार नेपालका २० ठुला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताए ।
मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पारे ।
उद्योगले कमाउने नाफाले पुन:लगानी बढाउने र त्यसबाट सिर्जना हुने रोजगारी र आम्दानीले अन्ततः राज्यको राजस्वमा योगदान पुग्ने भन्दै उनले सरकार र निजी क्षेत्रको सम्बन्ध परिपूरक रहेको उल्लेख गरेका छन्। वैध रूपमा गरिएको लगानी र आर्जन गरिएको मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
सो अवसरमा अर्थमन्त्रीले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारीका अवसरहरू सिर्जना गर्न आग्रह गरेका छन्।
नेपालमा वैध रूपमा सिर्जना गरिएको सम्पत्ति र नाफाको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको उनले बताएका छन्। लगानीकर्ताले नियमको स्थिरता र कर प्रणालीको पूर्वानुमानयोग्यतामा विश्वास गर्न सक्ने वातावरण निर्माण नभएसम्म ठुलो लगानी आउन नसक्ने धारणा उनले राखेका छन्।
कार्यक्रममा सहभागी उद्यमीहरूले लगानीका अवरोध र नीतिगत सुधारका विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए। अर्थमन्त्री वाग्लेले प्राप्त सुझावहरूलाई सम्बोधन गर्दै सरकार व्यवसायीहरूको मनोबल उच्च बनाउन प्रतिबद्ध रहेको बताए।




प्रतिक्रिया