काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले रिपोर्टर्स क्लब बन्द हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सरकारको छविमाथि प्रश्न उठेको बताएका छन् ।
सोमबार भृकुटीमण्डपस्थित बन्द रिपोर्टर्स क्लबको बाहिर पत्रकार सम्मेलनको आयोजना गर्दै धमलाले कुनै पनि देशमा सञ्चारमाध्यम बन्द गर्न नहुने बताए । रिपोर्टर्स क्लब पनि सञ्चारमाध्यमकै एक महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै उनले क्लबले समाचार उत्पादन गर्नुका साथै देश र जनतालाई सुसूचित गराउने काम गर्दै आएको बताए ।
‘रिपोर्टर्स क्लब बन्द गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारको छविमाथि प्रश्न उठेको छ । कुनै पनि देशमा सञ्चारमाध्यम बन्द गर्नु हुँदैन । रिपोर्टर्स क्लब पनि एउटा सञ्चारमाध्यम हो । यसले समाचार उत्पादन गर्ने हो, देश र जनतालाई सुसूचित गर्ने हो,’ धमलाले भने ।
उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई रिपोर्टर्स क्लब तत्काल सञ्चालनमा ल्याउन आग्रह गरे । क्लब बन्द भएको विषयमा गृहमन्त्री गुरुङसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई समेत भेटेर जानकारी गराइसकेको उनले बताए ।
धमलाले रिपोर्टर्स क्लब स्थापनाकालदेखि नै कुनै व्यक्ति, दल वा समूहप्रति पूर्वाग्रही नभई निष्पक्ष, तटस्थ र स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएको दाबी गरे । ‘रिपोर्टर्स क्लब कोहीप्रति पूर्वाग्रही भएन । सधैं निष्पक्ष, तटस्थ र स्वतन्त्र भएर आवाजविहीनहरूको साथमा उभियो,’ उनले भने ।
रिपोर्टर्स क्लब कुनै राजनीतिक दल वा निश्चित वर्गविशेषको संस्था नभएको धमलाले स्पष्ट पारे । क्लबलाई सबै पक्षको उपस्थिति रहने साझा मञ्चका रूपमा उनले व्याख्या गरे ।
‘रिपोर्टर्स क्लब साझा मञ्च हो । कुनै पार्टी र वर्गविशेषको होइन । यहाँ सबै पक्षको उपस्थिति हुन्छ । यहाँ सबै तह र तप्काका मानिसहरू आउँछन्, सबै क्षेत्रका आवाजहरू आउँछन्,’ धमलाले भने, ‘हामीले एउटा क्षेत्रलाई मात्रै उपस्थिति गराएर कार्यक्रम गर्दैनौं । हरेक क्षेत्र, तह र तप्काका आवाजविहीनहरूको आवाज राख्ने ठाउँ हो रिपोर्टर्स क्लब ।’
उनले रिपोर्टर्स क्लबले पत्रकार, राजनीतिक दल, नागरिक समाज, व्यवसायी, अधिकारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आफ्ना धारणा सार्वजनिक गर्ने साझा थलो उपलब्ध गराउँदै आएको बताए ।
रिपोर्टस क्लबको तर्फबाट सम्झौता अनुसारको सबै बक्यौता एक महिना अगाडि नै समाज कल्याण परिषद्मा बुझाइसकेको उनले जानकारी दिए ।




प्रतिक्रिया