काठमाडौं । नेता हरिकृष्ण गजुरेलले रिपोर्टर्स क्लबले सबै भाडा तिरिसक्दा पनि बन्द गरिनु जनताको आवाज बन्द गर्नु सरह भएको बताएका छन् ।
सोमबार भृकुटीमण्डपस्थित बन्द रिपोर्टर्स क्लबको बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले रिपोर्टर्स क्लब बन्द हुनु एउटा सञ्चार संस्था बन्द हुनुमा मात्रै सीमित नभएको बताए ।
‘सबै भाडा तिरिसकेपछि पनि रिपोर्टर्स क्लब नखोलिनु भनेको केवल यो एउटा रिपोर्टर्स क्लब मात्रै बन्द गर्ने कुरा होइन । यो समग्र भुइँमान्छेको, समग्र गरिबहरूको, समग्र निमुखाहरूको, समग्र उत्पीडितहरूको र सबै आवाजविहीनहरूको आवाज बन्द गर्ने काम हो,’ उनले भने ।
गजुरेलले रिपोर्टर्स क्लबलाई अविलम्ब सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरे । सरकारले तत्काल क्लब नखोलिदिए जनताले नै खोल्न बाध्य हुने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।
सञ्चारगृह कुनै व्यक्ति विशेषको नभई आम नागरिकको हुने उनको भनाइ थियो । रिपोर्टर्स क्लबले स्थापनादेखि नै विभिन्न जाति, समुदाय, वर्ग र समूहका आवाजलाई सार्वजनिक गर्ने साझा मञ्चका रूपमा भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
‘रिपोर्टर्स क्लबमा सबै जाति, समुदाय, वर्ग र समूहका आवाजलाई स्थान दिइन्थ्यो । यो कुनै व्यक्ति विशेषको आवाज उठाउने ठाउँ होइन, आम नागरिकको आवाज उठाउने साझा मञ्च हो,’ गजुरेलले भने ।
उनले वर्तमान सरकारसँग आम नागरिकको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै सरकारले जनताको आवाज र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए ।




प्रतिक्रिया