काठमाडौं । अधिवक्ता स्वागत नेपालले रिपोर्टर्स क्लबमा लगाएको ताला खोल्न सरकारसँग माग गरेका छन् ।
सोमबार भृकुटीमण्डपस्थित बन्द रिपोर्टर्स क्लबको बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिवक्ता नेपालले नेपालमा पटक–पटक प्रेसमाथि आक्रमण भएको र कतिपय अवस्थामा सञ्चारकर्मीले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न नपाउने अवस्था समेत रहेको बताए ।
सही कुरा सञ्चारमाध्यममार्फत सार्वजनिक गर्नसमेत कठिन हुने गरेको परिस्थितिको उल्लेख गर्दै उनले त्यस्तो समयमा रिपोर्टर्स क्लबले आफ्नो सञ्चारकर्म अघि बढाएको बताए ।
अधिवक्ता नेपालले रिपोर्टर्स क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले विगतमा कठिन र जटिल परिस्थितिमा गरेको पत्रकारिता तथा सञ्चारकर्मको खुलेर प्रशंसा गरे । उनले धमलाले विभिन्न चुनौतीपूर्ण अवस्थामा पनि सञ्चारकर्मलाई निरन्तरता दिएको बताए ।
विगतको स्मरण गर्दै नेपालले सरकारले ल्याएको बजेटको समीक्षा गर्नसमेत सरकारका प्रतिनिधिहरू स्वयं रिपोर्टर्स क्लबमा आउने गरेको बताए । अन्य सञ्चारमाध्यमको तुलनामा रिपोर्टर्स क्लब विश्वसनीय सञ्चारमञ्चका रूपमा स्थापित भएको उनको दाबी थियो ।
‘सञ्चारमाध्यमको मुख थुन्नु भनेको असभ्यता हो,’ नेपालले भने, ‘तिर्नुपर्ने सबै भाडा तिरिसक्दा पनि रिपोर्टर्स क्लब नखोल्नु गलत हो ।’




प्रतिक्रिया