मस्को, २५ साउन । रूसले युक्रेनसँगको जारी द्वन्द्वलाई तत्काल ‘स्थिर’ वा ‘फ्रिज’ गर्ने कुनै पनि प्रस्ताव अस्वीकार गर्दै दीर्घकालीन शान्तिका लागि आफूले सङ्कटका मूल कारण मानेका विषय सम्बोधन हुनुपर्ने अडान दोहोर्याएको छ । मस्कोले युक्रेनको स्थायी तटस्थता र केही क्षेत्रसम्बन्धी आफ्नो मागलाई शान्ति प्रक्रियाको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ ।
रुसी उपविदेशमन्त्री मिखाइल गालुजिनले द्वन्द्वका अन्तर्निहित कारण समाधान नगरी युद्धलाई अस्थायी रूपमा रोक्नु दीर्घकालीन समाधान नहुने बताएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि पटक–पटक यही धारणा सार्वजनिक गरेको उल्लेख गरे ।
“सङ्कटका मूल कारणलाई सम्बोधन नगरी द्वन्द्वलाई ‘फ्रिज’ गर्न सकिँदैन”, गालुजिनले भने ।
रुसका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले वर्तमान परिस्थितिको वास्तविकता बुझ्न नसकेको र द्वन्द्वलाई थप बढाउने गतिविधि गरिरहेको आरोप गालुजिनले लगाए । उनले युक्रेनले नागरिक ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाएको दाबी गर्दै त्यस्ता आक्रमणलाई ‘बर्बर’ गतिविधिको संज्ञा दिए ।
गालुजिनले विशेषगरी नोभोरोसिस्कस्थित क्यास्पियन पाइपलाइन कन्सोर्टियम (सीपीसी) को टर्मिनलमा भएको आक्रमणको उल्लेख गरे । उक्त टर्मिनलमार्फत कजाखस्तानको कच्चा तेल युरोप तथा एसियाली बजारमा पठाइन्छ । सीपीसीका प्रमुख लगानीकर्तामध्ये एक्सोनमोबिल, सेभरन र शेलजस्ता पश्चिमी ऊर्जा कम्पनीसमेत रहेका छन् ।
रुसी पक्षको यस्तो आरोप युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ओडेसा, खार्किभ, पावलोहरादलगायत क्षेत्रमा पछिल्ला रुसी आक्रमणबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको विवरण सार्वजनिक गरेपछि आएको हो ।
जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा ओडेसामा ऊर्जा पूर्वाधार तथा बन्दरगाह सुविधामा भएको आक्रमणपछि आपत्कालीन टोली विद्युत् आपूर्ति पुनःस्थापना गर्न खटिएको बताएका छन् । उनले रुसी आक्रमणलाई विश्वव्यापी खाद्य सुरक्षामाथिको योजनाबद्ध आक्रमणको हिस्सा भएको आरोप लगाए । उनका अनुसार ओडेसामा भएको आक्रमणमा कम्तीमा आठ जना घाइते भएका छन् ।
जेलेन्स्कीले आवासीय भवन र बन्दरगाहसमेत क्षतिग्रस्त भएको बताउँदै आवश्यक सबै सेवा परिचालन गरिएको जानकारी दिए । उनका अनुसार आक्रमणपछि ओडेसा तथा आसपासका क्षेत्रमा तीन लाखभन्दा बढी परिवार विद्युत्विहीन भएका थिए । तीमध्ये करिब एक तिहाइ परिवारमा विद्युत् आपूर्ति पुनःस्थापित भइसकेको र बाँकी क्षेत्रमा काम जारी रहेको उनले बताए ।
खार्किभमा ड्रोन आक्रमणबाट आवासीय भवनको चार तला ध्वस्त भएको र त्यसमा दुई जनाको मृत्यु तथा दर्जनौँ घाइते भएको जेलेन्स्कीले दाबी गरेका छन् । पावलोहरादमा सपिङ मल र विद्युत् संरचनानजिक भएको आक्रमणमा चार बालबालिकासहित नौ जना घाइते भएको उनको भनाइ छ ।
युक्रेनमाथि पछिल्लो समय भएको हवाई आक्रमणको व्यापकता उल्लेख गर्दै जेलेन्स्कीले एक सातामै विभिन्न प्रकारका ६१ वटा क्षेप्यास्त्र प्रयोग भएको दाबी गरेका छन् । तीमध्ये ५६ वटा ब्यालिस्टिक प्रक्षेपणमार्फत प्रहार गरिएको र एक हजार ५६० भन्दा बढी आक्रमणकारी ड्रोन तथा एक हजार ५४० हवाई बम प्रयोग भएको उनले बताए ।
“मानव जीवनमाथि हुने प्रत्येक आक्रमणले हामीलाई थप दबाब, रुसमाथि थप प्रतिबन्ध र युक्रेनका लागि थप हवाई प्रतिरक्षाको आवश्यकता सम्झाउँछ”, जेलेन्स्कीले भने । उनले निरन्तर सहयोगका लागि अन्तर्राष्ट्रिय साझेदारलाई धन्यवादसमेत दिए ।
पछि सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो सन्देशमा जेलेन्स्कीले ओडेसामा राहत तथा पुनःस्थापनाको काम जारी रहेको बताए । उनका अनुसार अघिल्लो रातको आक्रमणपछि विद्युत् र पानी आपूर्ति अवरुद्ध भएको थियो । मर्मत टोली, युक्रेनको राज्य आपत्कालीन सेवा तथा अन्य सम्बन्धित निकाय आपूर्ति पुनःस्थापनामा खटिएका छन् ।
रुसले भने युक्रेनसँगको द्वन्द्व अन्त्य गर्न अस्थायी युद्धविराम वा द्वन्द्व ‘स्थिर’ पार्नेभन्दा आफूले उठाउँदै आएका मूल राजनीतिक तथा सुरक्षा मुद्दाको समाधान आवश्यक रहेको बताउँदै आएको छ । मस्कोको पछिल्लो अडानले युद्ध अन्त्यका लागि तत्काल सहमति खोज्ने प्रयास र दुवै पक्षका आधारभूत मागबीचको दूरी अझै कायम रहेको देखाएको छ ।




प्रतिक्रिया