मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।

हाल मतदाता नामावलीमा नाम छुटेका, विवरण सच्याउनुपर्ने, बसाइँसराइ वा विवाहका कारण विवरण परिवर्तन भएका तथा मृत्यु भएका मतदाताको नाम अद्यावधिक गर्ने कार्य जारी रहेकाले समयमै यस प्रक्रियामा सहभागी हुन कार्यालयले आग्रह गरेको हो ।

आज धनगढीमा आयोजित वार्षिक समीक्षा तथा सरोकार भएकाहरुसँग अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रेमराज भण्डारीले आयोगको निर्णयअनुसार आगामी भदौ १५ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा समावेश गर्ने गरी अद्यावधिक प्रक्रिया जारी रहने जानकारी दिए । 

उनले अनलाइन वा भौतिक रुपमा उपस्थित भएर नामावली अद्यावधिक गर्ने व्यवस्था रहेको बताए । ‘मतदाता नामावली व्यवस्थापनलाई निर्वाचन कार्यालयमा सीमित नराखी स्थानीय तह र वडा कार्यालयसँगको समन्वयमा नागरिकको घरदैलो नजिक पुर्‍याउने योजना छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘स्थानीय पञ्जिकाधिकारीको समन्वयमा विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण भिडाएर अद्यावधिक गर्ने काम पनि भइरहेको छ ।’

कार्यालयले यसअघि कैलालीका विभिन्न स्थानीय तहका १३ वटा वडा कार्यालयमा अनलाइन मतदाता नामावली प्रणालीसम्बन्धी सहजीकरण गरेको कार्यक्रममा जानकारी दिइयो । गोदावरी, गौरीगङ्गा, घोडाघोडी, बर्दगोरिया र टीकापुरका ती वडामा अनलाइन मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रणालीबारे अभिमुखीकरण दिइएको थियो ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले आगामी निर्वाचनमा बढीभन्दा बढी नागरिकलाई सहभागी हुने गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गरे ।  रासस