बेइजिङ । चीनले अन्तरिक्षमा उपग्रह पठाउन प्रक्षेपण गरेको लङ मार्च–७ए रकेट विस्फोट भएको छ । सोमबार चीनको अन्तरिक्ष कार्यक्रमका लागि नियमित रूपमा प्रयोग हुँदै आएको रकेट प्रक्षेपण असफल भएको थियो ।
यसलाई हुनु तुलनात्मक रूपमा दुर्लभ घटना मानिएको छ । चीनको हाइनान प्रान्तस्थित वेन्चाङ स्पेसक्राफ्ट लन्च साइटबाट सोमबार राति करिब ८ बजे प्रक्षेपण गरिएको रकेट केही समयपछि आकाशमै टुक्रिँदै ठूलो आगोको गोलामा परिणत भएको भिडियोहरूमा देखिएको छ ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले प्रक्षेपणको करिब तीन घण्टापछि घटनाको पुष्टि गर्दै उडानका क्रममा रकेटमा असामान्यता देखिएको जनाएको छ । घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताइए पनि थप विवरण सार्वजनिक गरिएको छैन । रकेटमा झोङसिङ–४बी नामक सञ्चार उपग्रह राखिएको थियो । उक्त उपग्रहले विश्वभरका प्रयोगकर्तालाई रेडियो, टेलिभिजन तथा अन्य सञ्चार सेवा उपलब्ध गराउने उद्देश्य राखिएको थियो ।
१८औँ प्रक्षेपणमा दोस्रो असफलता
लङ मार्च–७ए चीनको मुख्य अन्तरिक्ष ठेकेदार ‘चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन (सीएएसटीसी) अन्तर्गतको चाइना एकेडेमी अफ लन्च भेहिकल टेक्नोलोजीले विकास गरेको रकेट हो । सोमबारको प्रक्षेपण लङ मार्च–७एको १८औँ मिसन थियो । यसअघि सन् २०२० मा भएको पहिलो प्रक्षेपणमा मात्रै यो रकेट असफल भएको थियो । त्यसपछि सन् २०२१ मार्चमा गरिएको दोस्रो प्रयास सफल भएको थियो ।
वेन्चाङ चीनको प्रमुख रकेट प्रक्षेपण केन्द्रमध्ये एक हो । यहाँ हुने प्रक्षेपण हेर्न पर्यटक तथा स्थानीय बासिन्दा समेत ठूलो संख्यामा जम्मा हुने गर्छन् । सोमबारको असफल प्रक्षेपणको अनलाइन भिडियोमा रकेट आकाशमै विस्फोट हुँदा दर्शकहरूको आश्चर्य र आत्तिएको आवाजसमेत सुनिएको थियो ।
चीनले सन् २०५० सम्म अन्तरिक्ष विज्ञानमा विश्वकै अग्रणी राष्ट्र बन्ने महत्वाकांक्षा राखेको छ । अमेरिका र चीनबीच पुनःप्रयोग गर्न मिल्ने रकेट प्रविधि, चन्द्रमा अनुसन्धान तथा उपग्रह प्रक्षेपणलगायतका क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुँदै आएको छ । लङ मार्च–७एको असफलतापछि मंगलबार बिहान जिउछ्वान स्याटेलाइट लन्च सेन्टरबाट प्रक्षेपण गर्ने तयारी गरिएको झुच्वे–३ रकेटको प्रक्षेपणसमेत ढिलाइ भएको स्थानीय आर्थिक समाचार संस्था यिकाइले स्रोतलाई उद्धृत गर्दै जनाएको छ । यद्यपि झुच्वे–३ को ढिलाइ सोमबारको लङ मार्च–७ए दुर्घटनासँग प्रत्यक्ष रूपमा सम्बन्धित हो वा होइन भन्नेबारे तत्काल आधिकारिक पुष्टि भएको छैन । एजेन्सी




प्रतिक्रिया