नयाँ नीति ल्याउनुअघि सरकारले सरोकारवालासँग परामर्श गर्नुपर्छ : नाइमाकी अध्यक्ष वैद्य


काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ । नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन प्रहरी महानीरिक्षक दानबहादुर कार्कीले मंगलबार गरेको हो ।

एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताएकी छन् ।

एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको नाइमामा हाल ३६ कम्पनी आबद्ध भइसकेको जानकारी दिइन् । उनले यातायात (मोबिलिटी) लाई केवल विलासिता वा सरकारी राजस्वको माध्यमका रूपमा मात्र नहेर्न आग्रह गरिन् । नेपाल स्वच्छ र दिगो यातायातको भविष्यतर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले सरकारको हरित अर्थतन्त्रको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताइन् ।

निजी क्षेत्रले नीतिगत स्थिरता र पूर्वानुमानयोग्य नीतिको अपेक्षा गरेको बताउँदै वैद्यले नयाँ नीति वा नियम ल्याउनुअघि सरकारले सरोकारवालासँग अनिवार्य परामर्श गर्नुपर्ने बताइन् ।

साउन ३१ गतेसम्म चल्ने नाइमा एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डको सहभागिता रहने भएका छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारी साधनहरुको लञ्च गरिने भएको छ । एक्स्पोमा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, अत्याधुनिक प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादन प्रदर्शनमा राखिने भएको छ ।

भृकुटीमण्डपको प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण गरिएको छ । एक्स्पोमा हुन्डाई, बिवाइडी, निसान, टाटा, टोयोटा, किया र महिन्द्राजस्ता चर्चित ब्रान्डले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ ।