काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले देवानगञ्ज घटनाको निष्पक्ष छानबिनको माग गर्दै अनसनरत विनय यादवको स्वास्थ्यप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै १२ दिनदेखि अनसनमा रहेका यादवको स्वास्थ्य चिन्ताजनक रहेको भन्दै जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले माइतीघरस्थित अनसनस्थल पुगेर यादवको स्वास्थ्यबारे जानकारी लिएको जनाएको छ ।
अनुगमनका क्रममा यादवको सुगर र रक्तचाप घट्दै गएको र स्वास्थ्य जटिल बनिरहेकाले तत्काल उपचारको प्रबन्ध गर्न भनेको छ । ‘आयोगले यादवको स्वास्थ्य स्थिति तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे अनशनस्थल माइतिघर पुगेर जानकारी लिएको छ।अनुगमनको क्रममा निज यादवको सुगर र रक्तचाप घट्दै गएको, लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको छ। अनशन शुरू भएको १२ दिन वितिसक्दा समेत नेपाल सरकारका तर्फबाट स्वास्थ्य उपचार वा कुनै वार्ताको पहल नभएको अनुगमनबाट बुझिएको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।




प्रतिक्रिया