काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेला स्थगित भएको भन्ने समाचारको कडा खण्डन गरेको छ।
आयोजक समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको किर्ते हस्ताक्षर र नाम प्रयोग गरी भेला रोकिएको भन्दै भ्रमपूर्ण विज्ञप्ति सामाजिक सञ्जालमा फैलाइएपछि देउवा समूहले सो सूचना आधिकारिक नभएको स्पष्ट पारेको हो।
देउवा समूहका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पूर्वनिर्धारित तालिकाअनुसार नै साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला सञ्चालन हुनेछ। भेलाको तयारी तीव्र पारिएको र तोकिएकै समयमा कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए ।
विश्वकर्माले भेलालाई प्रभावित पार्ने कुत्सित मनसायले संयोजक कोइरालाको किर्ते हस्ताक्षर गरी नक्कली विज्ञप्ति तयार पारिएको बताए। कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको पूर्ण समर्थन र देउवाको स्वदेश आगमनपश्चात् सम्बोधन गर्ने कार्यक्रम सुनिश्चित भइसकेको अवस्थामा यस्तो भ्रम फैलाइएको उनको भनाइ छ।
देउवा समूहले आधिकारिक माध्यमबाट सार्वजनिक भएका सूचनालाई मात्र विश्वास गर्न आग्रह गर्दै राष्ट्रिय भेला रोक्ने कुनै निर्णय नभएको दोहोर्याएको छ।




प्रतिक्रिया