सडक हिलाम्मे बनाउने निर्माण कम्पनीलाई ५० हजार जरिबाना


काठमाडौँ । घर निर्माणका क्रममा सडकमा माटो खसालेर सडक हिलाम्मे बनाउने निर्माण कम्पनीलाई काठमाडौँ महानगरपालिका कारबाही गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर २, गैरीधारामा घर निर्माण गरिरहेको ‘राम कन्ट्रक्समन’ ले सडकमा जथाभावी माटो खसाल्दै काटो हिलाम्मे बनाएपछि ५० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

त्यस स्थानमा पैदलयात्री र सवारी साधनलाई आवतजावतमा निकै सास्ती भएको जनगुनासो आएपछि महानगर प्रहरी बलले उक्त कदम चालेको बताइएको छ ।

काठमाडौँ महानगरपालिकाको नियम उल्लङ्घन गरेको भन्दै महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षक अन्तर्गत उक्त रकम असुल गरिएको जनाएको छ।