काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल विद्यार्थी संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएको छ।
नेपाल विद्यार्थी संघका मुख्य सचिव विजय खड्काले आज एक विज्ञप्ति जारी गर्दै देउवालाई स्वागत गर्न संघका सबै समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
संघले यही साउन २८ गते बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवालाई स्वागत कार्यक्रम आयोजना गरिएको जनाएको छ।
कांग्रेस संस्थापइतर समूहले साउन २९-३१ मा रास्ट्रीय भेलाको आयोजना गरेको छ । उक्त भेलालाई देउवाले पनि सम्बोधन गर्ने जनाइएको छ ।
कांग्रेस आधिकारिकताको विवाद फेरि सर्वोच्च अदालत पुगेको बेला देउवाको स्वागत कार्यक्रमलाई राजनीतिक रूपमा अर्थपूर्ण तरिकाले हेरिएको छ।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकतालाई सर्वोच्च अदालतको संयुक्त इजलासले गत वैशाख ४ गते सदर गरेको थियो। त्यसविरुद्ध पूर्वसभापति देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको पूर्ण इजलासले साउन २१ गते उक्त पुनरावलोकन निवेदनमा निस्सा हुने आदेश दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइमा जाने बाटो खुलेको हो । अब यसअघि गगन थापा नेतृत्वलाई आधिकारिकता दिने फैसला कानुनी प्रक्रिया र न्यायिक नजिरअनुकूल थियो कि थिएन भन्ने विषयमा पुनः सुनुवाइ हुनेछ। यहीबीचमा देउवाको स्वदेश फिर्तीलाई समेत अर्थपूर्ण रूपमा हेरिएको छ ।





प्रतिक्रिया