काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले चार महिनामै चमत्कार गरेर देश बदल्नुपर्छ भन्ने अपेक्षा व्यावहारिक नभएको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले विकासका लागि सरकारलाई पर्याप्त समय दिनुपर्ने बताएका हुन्। उनले ३५ वर्षमा हुन नसकेको विकास चार महिनामै गर भन्ने अपेक्षा गर्नु व्यावहारिक नहुने उल्लेख गरेका छन्।
तर भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका मुख्य व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही अघि बढाउन भने वर्षौं कुर्नुपर्ने अवस्था नरहेको शाहीको भनाइ छ।
शाहीले देशमा भएका ६५ वटा ठूला भ्रष्टाचारका काण्डका मुख्य नायकहरूमध्ये अहिलेसम्म प्रभावशाली रूपमा कारबाहीमा परेको कोही नदेखिएको बताएका छन्। अहिलेसम्म पक्राउ परेकामध्ये गृहमन्त्रीका व्यापारिक साझेदार भनिएका दीपक भट्ट मात्रै रहेको उनले उल्लेख गरेका छन्।
उनले विकासका लागि समय लिन सरकारलाई आग्रह गर्दै भ्रष्टाचारका विषयमा अनुसन्धान र कारबाही गर्न भने समयको बहाना नबनाउन आग्रहसमेत गरेका छन्।
“विकासका लागि समय लिनुस्, तर भ्रष्टाचारको अनुसन्धान गर्न समयको बहाना नबनाउनुस्,” शाहीले फेसबुकमा लेखेका छन्।




प्रतिक्रिया