मालवाहक जहाजमा हुथी आक्रमण


सना । इजिप्टको स्वामित्वमा रहेको मालवाहक जहाज तिहामाहमाथि बाब अल–मन्देब स्ट्रेट क्षेत्रमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । इयमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले जनाएको भन्दै अल जजिराले समाचार छापेको छ । घटनामा १० जना घाइते भएको जनाइएको छ ।

यमनी यातायात मन्त्रालयका अनुसार हुथीहरूले जहाजमाथि तीन वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेका थिए । मिसाइल प्रहारपछि जहाजमा आगलागी हुनुका साथै ठुलो क्षति पुगेको थियो । मृतकमध्ये तीन जना पाकिस्तानी र एक जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ ।

उद्धारका क्रममा हुथीहरूले जहाजमाथि अर्को मिसाइल प्रहार गरेको थियो । उक्त दोस्रो आक्रमणमा उद्धार कार्यमा खटिएका दुई सैनिकको मृत्यु भएको बताइएको छ । घाइते हुनेमा जहाजका सात चालक दलका सदस्यसहित अन्य व्यक्ति रहेका छन् ।

आक्रमणको निन्दा गर्दै हुथीविरुद्ध प्रभावकारी र निर्णायक कदम चाल्न यमनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । हुथी समूहले भने घटनाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, हुथी नियन्त्रित समाचार संस्था साबाले बाब अल–मन्देबमा सैन्य सामग्री बोकेको साउदी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।

यमनमा हुथी र साउदी समर्थित सरकार बिचको लामो समयदेखिको युद्धविराम भंग भएपछि क्षेत्रमा तनाव थप बढेको छ । सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको पहलमा भएको युद्धविरामको अवस्था पछिल्लो समय कमजोर बनेको छ । एजेन्सी