काठमाडौँ । आन्तरिक खिचातानी र वैधानिकताको कानुनी लडाइँमा रुमल्लिरहेको नेपाली कांग्रेसभित्र इतर समूहले आफ्नो शक्ति प्रदर्शन र रणनीति तय गर्न काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबार दिउँसो १ बजेबाट सुरु हुने भेलाको उद्घाटन पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले गर्दै छन् भने कार्यक्रमको सभापतित्व आयोजक समितिका संयोजक नेता डा. शशांक कोइरालाले गर्नेछन्।
साउन ३१ गतेसम्म चल्ने तीनदिने यो भेला औपचारिकतामा मात्र सीमित नरहेर कांग्रेसभित्र चुलिँदै गएको शक्ति संघर्ष र भावी दिशा तय गर्ने थलोका रूपमा हेरिएको छ।
भेलामा महाधिवेशन प्रतिनिधिसहित देशभरका करिब चार हजार पाँच सय प्रतिनिधिको सहभागिता रहनेछ। पहिलो दिन उद्घाटन सत्र र शीर्ष नेताहरूको सम्बोधनमा केन्द्रित रहनेछ भने दोस्रो दिन शनिबार राजनीतिक, समसामयिक, सांगठनिक र आर्थिक प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गरिनेछ। प्रस्तुत दस्तावेजहरूमाथि प्रतिनिधिहरूबीच हुने खुला छलफलले संस्थापन पक्षप्रतिको असन्तुष्टि र इतर पक्षको भावी रणनीतिलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
भेलाको ढाँचा र प्रस्तुत हुन लागेका प्रस्तावहरूले पार्टीभित्रको वैचारिक र सांगठनिक ध्रुवीकरणलाई थप उत्कर्षमा पुर्याएको संकेत गर्छ।
भेलाको सबैभन्दा पेचिलो पाटो पार्टीको आधिकारिकतासँग जोडिएको कानुनी विवाद हो। सर्वोच्च अदालतमा कांग्रेसको वैधानिकतासम्बन्धी मुद्दा विचाराधीन रहेका कारण इतर समूह सम्भावित कानुनी जटिलताप्रति निकै सतर्क देखिएको छ। यही कारण भेलाबाट कुनै पनि नयाँ समानान्तर कमिटी गठन नगरिने रणनीति अपनाइएको छ।
“अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी हामी कुनै निर्णय गर्दैनौँ,” इतर समूहका एक नेताले स्पष्ट पारे ।
यद्यपि, कानुनी सीमाभित्र रहेरै पनि इतर समूहले राजनीतिक रूपमा कडा सन्देश दिन खोजेको छ। दुवै पक्षले आफूलाई आधिकारिक दाबी गरिरहेको स्थितिप्रति असन्तुष्टि जनाउँदै यो समूहले २०८२ माघ १ गतेको सांगठनिक अवस्थालाई आफ्नो ‘प्रस्थानविन्दु’ मानेको छ। यसले संस्थापन पक्षले पछि गरेका एकलौटी निर्णयहरूलाई अस्वीकार गर्ने र तत्कालीन शक्ति सन्तुलनकै आधारमा अघि बढ्ने उनीहरूको रणनीति उजागर गर्छ।
पूर्वसभापति देउवाद्वारा उद्घाटन गराएर शीर्ष नेतृत्वको सद्भाव रहेको देखाउन खोजिए पनि यो भेला मूलतः पार्टीभित्र आफ्नो उपस्थिति र दबाब कायम राख्ने इतर पक्षको रणनीतिक अभ्यास हो।
पार्टी एकताबद्ध हुनुपर्छ भन्ने पक्षधरहरूलाई एकै थलोमा ल्याउने दाबी गरिए पनि अदालतको फैसला नआएसम्म यो समूह पर्ख र हेरको स्थितिमा रहने देखिन्छ। साउन ३१ गते सम्पन्न हुने यो राष्ट्रिय भेलाले पारित गर्ने राजनीतिक र सांगठनिक प्रस्तावहरूले नेपाली कांग्रेसको आगामी आन्तरिक राजनीति कुन दिशातर्फ मोडिन्छ भन्ने कुराको स्पष्ट संकेत दिनेछ।




प्रतिक्रिया