काठमाडौँ । हालैका दिनमा विद्यालयमा भएको घातक गोलीकाण्डपछि थाइल्यान्ड सरकारले बन्दुक नियन्त्रणसम्बन्धी नियम कडा बनाउने निर्णय गरेको छ। सरकारले नयाँ बन्दुक खरिद अनुमति पत्र जारी गर्न अस्थायी रूपमा रोक लगाउनुका साथै यसअघि दर्ता भएका अनुमति आवेदनको पुनः समीक्षा गर्ने भएको छ।
गत शुक्रबार १४ वर्षीय किशोरले आफ्नै घरमा हजुरबा–हजुरआमाको हत्या गरेपछि विद्यालयमा गोली चलाउँदा अरू ६ जनाको मृत्यु भएको थियो । त्यसपछि किशोरले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए ।
सन् २०२२ पछि थाइल्यान्डमा भएको यो सबैभन्दा घातक सामूहिक गोलीकाण्ड भएको बताइएको छ। प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले मङ्गलबार सरकारी अधिकारीहरूलाई देशभर बन्दुक नियन्त्रणका उपाय तत्काल प्रभावकारी रूपमा कडा बनाउन निर्देशन दिएका छन्।
सार्वजनिक अधिकारी, कर्मचारी तथा राजनीतिज्ञलाई छुट मूल्यमा बन्दुक खरिद गर्न दिइने नयाँ ‘वेलफेयर गन’ कार्यक्रम पनि सरकारले अस्थायी रूपमा रोक्ने भएको छ।
देशभरका बन्दुक पसलको निरीक्षण गरी बिक्री अभिलेख पनि जाँच गरिनेछ । गोलीगठ्ठासम्बन्धी नियमको पालना भए–नभएको जाँच गर्न सुटिङ रेन्जको समेत निरीक्षण गर्ने जनाइएको छ। यसको साथै अवैध बन्दुक नियन्त्रण अभियान तीव्र पार्ने, दोषीमाथि कडा कानुनी कारबाही गर्ने र अदालतसँग अधिकतम सजाय माग गर्ने योजना पनि अघि सारिएको छ।
दीर्घकालीन सुधारका रूपमा बन्दुकसम्बन्धी अपराधमा सजाय बढाउने, बन्दुक पसल तथा सुटिङ रेन्जमा गोलीगठ्ठाको नियन्त्रण कडा बनाउने र बन्दुकको अनुमति पत्र निश्चित अवधिमा अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था ल्याउने तयारी गरिएको छ।
घटनामा ज्यान गुमाएका ६ जना पीडितका परिवारलाई प्रारम्भिक राहतस्वरूप जनही १० लाख थाइ भाट अर्थात् करिब ३० हजार अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरिएको सरकारी वक्तव्यमा उल्लेख छ।




प्रतिक्रिया