काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन् । हङकङबाट देउवा आज नेपाल आइपुग्न लागेका हुन् । जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा घाइते बनेपछि उपचारका लागि सिंगापुर पुगेका थिए । त्यसपछि सिंगापुरबाट हङकङ पुगेका देउवालाई कांग्रेसको इतर पक्षले विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेको छ । स्वागत गर्न कांग्रेसका सयौं नेता तथा कार्यकता अहिल बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुँदैछन् ।
देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जीसमेत जारी भएको थियो । तर पक्राउ पुर्जी रोक्न माग गर्दै वारेसमार्फत उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
देउवालाई विमानस्थलमा सात हजारभन्दा बढी नेता तथा कार्यकर्ताले स्वागत गर्ने योजना अनुसार गृह जिल्लाबाट समेत नेता कार्यकर्ता राजधानी आइपुगेका छन् । राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक व्यवस्थापनको काम गरिरहेका छन्।
विशेषगरी तरुण दल र विद्यार्थी संगठन परिचालन समितिले स्वागतको संयोजन गरिरहेका छन् भने सांस्कृतिक समितिले विभिन्न झाँकीसमेत प्रस्तुत गर्ने तयारी गरेको छ। देउवा दिउँसो १२ बजेर २५ मिनेटमा थाइ एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया