झापा । कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिले उनीहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन् ।
यसअघि यही साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो ।
तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि लगत सङ्कलनको काम सुरु गरेकोमा यस नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार लगत सङ्कलनका क्रममा नगरपालिकामा भूमिहीन दलित ३७५, भूमिहीन सुकुमवासी दुई हजार २४४ र अव्यवस्थित बसोबासी चार हजार ५८८ जनाको विवरण सङ्कलन गरिएको छ ।




प्रतिक्रिया