प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं : देउवा


काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किएलगत्तै देउवाले मुलुकमा देखिएका विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको बाटो रोज्नुपर्ने बताएका छन् ।

स्वदेश फर्किएपछि जारी गरेको वक्तव्यमा देउवाले राष्ट्रिय एकता सुदृढ गर्न सर्वपक्षीय सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने उद्घोष गरेको स्मरण गर्दै अहिले पनि त्यस्तै राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् ।

‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं । प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं,’ देउवाले भनेका छन् ।

देउवाले परिवर्तनको अर्थ पुस्ता परिवर्तन मात्रै नभई लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र नागरिक अधिकारलाई अझ बलियो बनाउनु भएको उल्लेख गरेका छन् । वर्तमान सरकारको दायित्व जनताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु रहेको उनको भनाइ छ ।