काठमाडौँ । सरकारले लामो समयदेखि पदाधिकारीविहीन रहेका देशका तीन प्रमुख प्रज्ञा–प्रतिष्ठानलाई पूर्णता दिएसँगै विभिन्न टीका-टिप्पणी र विवाद शुरु भएको छ । यस प्रक्रियामा ‘क्षेत्रीय सन्तुलन’ र ‘न्यायोचित प्रतिनिधित्व’ कायम हुन नसकेको भन्दै आलोचना सुरु भएको छ। विशेषगरी तीनवटै प्रतिष्ठानमा कास्की जिल्लाको अत्यधिक प्रतिनिधित्व देखिएपछि चौतर्फी चासो र टिप्पणी बढेको छ।
त्यस्तै, उपकुलपतिहरुको आचरण र नश्लीय सोचलाई लिएर पनि विवाद शुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार प्राज्ञ परिषद् र प्राज्ञ सभा सदस्य गरी कुल ८३ जना सर्जक तथा स्रष्टालाई मनोनयन गरिएको छ।
मनोनयनको अङ्कगणित
- नेपाल प्रज्ञा–प्रतिष्ठान: ३५ जना
- नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान: २४ जना
- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान: २४ जना
कास्कीको ‘दबदबा’ र विभागीय मन्त्रीको गृहजिल्ला
कुल ८३ जनाको मनोनयन सूचीमा कास्की जिल्लाबाट मात्रै आठ जना परिषद् तथा सभा सदस्यका रूपमा अटाएका छन्। बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) स्वयं कास्की निवासी रहेकाले यो मनोनयनलाई ‘भागबण्डा र पहुँच’का आधारमा गरिएको भन्दै सांस्कृतिक वृत्तमा असन्तोष प्रकट हुन थालेको छ।
कास्कीबाट प्रतिनिधित्व गर्ने प्राज्ञहरूको विवरण:
| प्रज्ञा–प्रतिष्ठान | मनोनीत सदस्यहरू | पद |
| नेपाल प्रज्ञा–प्रतिष्ठान | तीर्थबहादुर गुरुङ | प्राज्ञ परिषद् सदस्य |
| दीपक श्रेष्ठ | प्राज्ञ सभा सदस्य | |
| शंकरमणि त्रिपाठी | प्राज्ञ सभा सदस्य | |
| नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान | दीपक पराजुली | प्राज्ञ सभा सदस्य |
| विनोद बानियाँ | प्राज्ञ सभा सदस्य | |
| नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान | दिलबहादुर गुरुङ | प्राज्ञ सभा सदस्य/परिषद् |
| इसान परियार | प्राज्ञ सभा सदस्य/परिषद् | |
| नारायणबहादुर गुरुङ | प्राज्ञ सभा सदस्य/परिषद् |
लामो समयको पर्खाइपछि प्रज्ञा-प्रतिष्ठानहरूले पूर्णता पाउनु सकारात्मक पक्ष भए पनि मन्त्रीको गृहजिल्ला केन्द्रित मनोनयनले समावेशिता, समानुपातिक प्रतिनिधित्व र क्षेत्रीय सन्तुलनका आधारभूत सिद्धान्तमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ। देशभरका योग्य सर्जकहरूलाई समेट्नुपर्ने ठाउँमा निश्चित भूगोलको वर्चस्व देखिनुले आउँदा दिनमा यस निर्णयप्रति थप राजनीतिक तथा सांस्कृतिक बहस चुलिने सङ्केत गरेको छ।
यसैबीच, नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा कुमार नगरकोटीको चयन भएसँगै उनको आचरणलाई लिएर विभिन्न खाले क्रिया प्रतिक्रिया बढ्न थालेका छन् । नवनियुक्त कुलपति नगरकोटीको एक पुरानो अन्तर्वार्ताको भिडियो सार्वजनिक भएपछि तरङ्ग पैदा भएको हो। उक्त भिडियोमा नगरकोटी स्वयम्ले महिलाका सवालमा आफ्नो व्यवहार वा धारणा ‘स्वच्छ र मर्यादित नरहेको’ स्वीकारेका छन्।
यसैगरी सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति झुमा लिम्बूको नश्लीय सोचलाई लिएर पनि विवाद शुरु भएको छ । उनले यो देश क्षेत्री बाहुनले बनाएको हुँदै होइन भनेर टेलिभिजनमा अन्तर्वार्ता दिएकी थिइन् ।







प्रतिक्रिया