काठमाडौं । नेपाली कांग्रेस इतर पक्षका नेता शशांक कोइरालाले शेर बहादुर देउवाकै नेतृतवमा पार्टी अघि बढ्ने बताएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘शेरबहादुर देउवा आएपछि यो भेला पूर्ण सफल हुन्छ। शेरबहादुरजी नै हाम्रो नेता हो, हाम्रो सभापति हो। उहाँकै नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,’ उनले भने ।
त्यस्तै भेलाको आयोजना गर्नुको कारण पार्टी एकता रहेको उनले बताए । पार्टी एकजुट बनाउनका लागि राष्ट्रिय भेला आयोजना गर्नुपरेको उनको तर्क छ ।
‘यो भेलाको आयोजना गर्नुपर्यो ? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ कोइरालाले भने, नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो ।’
उनले बुवा बीपी कोइरालाले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण पनि गरे ।
‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो । उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । त्यो दिन हामीले तीन वटा सिनेमा हेर्यौं ।’




प्रतिक्रिया