चीनद्वारा न्युजिल्यान्डको जासुसी आरोपको खण्डन


वेलिङ्टन, २९ साउन । न्युजिल्यान्डको जासुसी निकायले चीनले आफ्नो भूमिमा व्यापक जासुसी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कडा आपत्ति जनाएको छ । वेलिङ्टनस्थित चिनियाँ दूतावासले शुक्रबार न्युजिल्यान्डको आरोप चीन–न्युजिल्यान्ड सम्बन्धलाई कमजोर बनाउने प्रयास भएको बताएको छ ।

न्युजिल्यान्ड सुरक्षा गुप्तचर सेवाले यसै साता सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा चीनले न्युजिल्यान्डविरुद्ध ‘व्यापक रूपमा’ जासुसी गतिविधि सञ्चालन गरिरहेको चेतावनी दिएको थियो । प्रतिवेदनले चिनियाँ जासुसले व्यावसायिक सञ्जालका माध्यमबाट राज्यका गोप्य सूचनामा पहुँच भएका न्युजिल्यान्डका नागरिकलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको समेत जनाएको थियो ।

जवाफमा चिनियाँ दूतावासका प्रवक्ताले जासुसी निकाय चीनविरुद्ध ‘आरोप र निन्दाको लहर’ चलाउने अभियानको हिस्सा बनेको आरोप लगाएको छ । उनले चीनविरुद्ध लगाइएका आरोपले सामान्य आदानप्रदान र सहयोगलाई जासुसी वा हस्तक्षेपका रूपमा चित्रण गरेको तथा कतिपय आरोप पूर्ण रूपमा आधारहीन रहेको बताए ।

चिनियाँ दूतावासले न्युजिल्यान्डभित्र तथा बाहिर रहेका केही शक्तिले चीन–न्युजिल्यान्ड सम्बन्ध राम्रो दिशामा अघि बढेको देख्न नचाहेकोसमेत आरोप लगाएको छ ।

यो प्रतिक्रिया न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले चिनियाँ मूलका एक सांसदलाई आफ्नो देश फर्किन आग्रह गरेको विषयमा चीनले औपचारिक विरोध जनाएको केही सातापछि आएको हो । दूतावासले शुक्रबार न्युजिल्यान्डका केही अज्ञात समूह तथा व्यक्तिले चीनविरोधी शक्तिका लागि ‘चीनविरोधी शक्तिलाई सहयोग गरिरहेको’ आरोपसमेत लगाएको छ ।

न्युजिल्यान्डको जासुसी निकायले चीनसँग सम्बन्धित अर्को गतिविधिबारे पनि चेतावनी दिएको छ । उसका अनुसार चिनियाँ सेनासँग सम्बन्धित पर्पल माउन्टेन वेधशालाले न्युजिल्यान्डमा गोप्य रूपमा भू–आधारित अन्तरिक्ष पूर्वाधार स्थापना गर्ने प्रयास गरेको थियो ।

जासुसी निकायका अनुसार उक्त परियोजनामा संलग्न न्युजिल्यान्डको एक स्थानीय कम्पनीलाई नाम नखुलाइए पनि त्यसबाट सैन्य महत्त्वका सूचना सङ्कलन गर्न सकिने सम्भावनाबारे जानकारी नभएको हुन सक्ने बताइएको छ ।

प्रतिवेदनले पर्पल माउन्टेन वेधशालाले न्युजिल्यान्डमा आफ्नै भू–आधारित अन्तरिक्ष पूर्वाधार स्थापना गर्न खोजेको यो पहिलो घटना नभएको र भविष्यमा पनि त्यस्तो प्रयास हुन सक्ने चेतावनी दिएको छ ।

चीन र न्युजिल्यान्डबीच व्यापार तथा अन्य क्षेत्रमा सहकार्य रहँदै आए पनि पछिल्लो समय सुरक्षा र सम्भावित विदेशी हस्तक्षेपका विषयमा दुवै देशबीच मतभेद बढ्दै गएको देखिएको छ । रासस

Skip This