लघुवित्त पीडितसँग ऐक्यबद्धता जनाउन पुगे ऋषि धमला, भोलि सरकारसँग वार्ताको तयारी


काठमाडौँ । सहकारी तथा लघुवित्त पीडितको आन्दोलनमा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले पनि साथ दिएका छन्। राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि चार घण्टादेखि धर्नामा बसेका पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै धमला शुक्रबार साँझ धर्नास्थलमै पुगेका हुन्।

मधेसका विभिन्न जिल्लाबाट काठमाडौँ आएका मिटरब्याजपीडित, सहकारी तथा लघुवित्त पीडितहरूले शुक्रबार आयोगअगाडि धर्ना दिएका छन् । आफ्ना समस्या समाधानको माग गर्दै उनीहरू पैदलमार्चमार्फत बिहीबार काठमाडौँ आइपुगेका थिए।

शुक्रबार कलंकीबाट पैदलयात्रा गर्दै राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेका पीडितहरूले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सुरक्षाकर्मीले गेटमै रोकेपछि उनीहरू नाराबाजी गर्दै धर्नामा बसेका थिए।

धर्नामा बसेका पीडितहरूको अवस्था बुझ्न पुगेका धमलाले उनीहरूका माग र समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनले पीडितहरूको आवाज सरकारसम्म पुर्‍याउँदै तत्काल वार्ताको वातावरण बनाउन पहल गरेका छन्।

धमलाको पहलपछि सरकारले पीडितहरूसँग शनिबार वार्ता गर्ने तयारी गरेको बताइएको छ। लामो समयदेखि सहकारी, लघुवित्त तथा मिटरब्याजका कारण पीडित बनेकाहरूले आफूहरूको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्दै आएका छन्।

पीडितहरूले आफूहरूको बचत फिर्ता, ऋण तथा ब्याजसम्बन्धी समस्या समाधान, ठगीमा संलग्नमाथि कारबाही र न्यायको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्

Skip This