‘गणपूरक नपुगेपछि ब्युँझिएको रास्वपा’: आफ्नै सांसदहरूको उपस्थितिमाथि कडा निगरानी


काठमाडौँ । संसदमा आफ्नै सांसदहरूको उपस्थिति पातलिँदै गएको र हाजिरी गरेर बैठकबाट बाहिरिने क्रम बढेको व्यापक गुनासोपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको ‘अटेन्डेन्स’ विश्लेषण गर्न छानबिन सुरु गरेको छ।

रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले संसद् सचिवालयबाट सांसदहरूको दैनिक हाजिरी विवरण झिकाएर विश्लेषण गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई औपचारिक निर्देशन दिएका हुन्।

निर्देशनपत्रमा पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नभएको, बैठक सुरु हुँदा हाजिर गरे पनि बीचमै संसद् भवन छाडेर हिँड्ने क्रम बढेको र यसले संसद्को गरिमामाथि नै प्रश्न उठाएको उल्लेख छ। मुख्य सचेतकले खासगरी असार ३० र ३१ गते तथा साउन १४, १८ र २२ गतेका संसद् बैठकको हाजिरीलाई सूक्ष्म रूपमा विश्लेषण गर्न भनेका छन्।

रास्वपाको आफ्नै नेतृत्वमा सरकार रहेको र प्रतिनिधिसभामा उसको स्पष्ट बहुमत हुँदाहुँदै पनि सांसदहरूको उपस्थिति निराशाजनक देखिँदै आएको छ। सभामुखबाहेक प्रतिनिधिसभामा रास्वपाका १८१ सांसद छन्। तर, साउन २६ गते बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या (कोरम) नपुगेकै कारण ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनै सकेको थिएन।

नेपालको संविधानको धारा ९४ अनुसार संसद्मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्दा कुल सदस्य संख्याको कम्तीमा एकचौथाइ (२५ प्रतिशत) सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर, उक्त दिन निर्णयका लागि ६९ सांसद चाहिनेमा बैठक कक्षमा ६१ जना मात्रै उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई अर्को बैठकमा धकेल्न बाध्य भएका थिए।

सांसदहरूको दैनिक हाजिरी विवरण झिकाएर विश्लेषण भइरहेको पुष्टि गर्दै रास्वपा सचेतक प्रकाशचन्द्र परियारले भने, “मुख्य सचेतकको निर्देशनबमोजिम हामीले प्रत्येक दिनको हाजिरी विश्लेषण गरिरहेका छौँ। हाजिरी विश्लेषणपछि कुन सांसद कति समय बसे र कसले बीचमै बैठक छाडे भन्ने विस्तृत प्रतिवेदन तयार पारिनेछ।”

सत्तापक्षका सांसदहरू नै संसद्मा अनुशासित र नियमित भइदिए त्यसले प्रतिपक्ष र अन्य दलका सांसदहरूलाई पनि संसद् बैठकमा पूर्ण समय उपस्थित हुन नैतिक दबाब पर्नेछ।

Skip This