किभ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि राजधानी किभसहित विभिन्न क्षेत्रमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
किभमा रातभर भएको आक्रमणका क्रममा एउटा पुस्तक बजारमा पनि आगलागी भएको छ । रुसी क्षेप्यास्त्र र ड्रोनबाट भएको आक्रमणपछि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
युक्रेनले तीन वटा रुसी क्षेप्यास्त्र र करिब १०० ड्रोन खसालेको दाबी गरेको छ । किभका मेयर भिताली क्लित्स्कोका अनुसार शनिबार रातिदेखि राजधानीमा चार पटक हवाई आक्रमणको चेतावनी दिइएको थियो । आक्रमणमा एक बालबालिकासहित कम्तीमा ६ जना घाइते भएका छन् ।
दक्षिणी सहर जापोरिज्जियामा भने रुसी निर्देशित हवाई बमले एउटा घर ध्वस्त पार्दा दुई जनाको मृत्यु भएको क्षेत्रीय प्रमुख इभान फेदोरोभले बताएका छन् । त्यस्तै, डिनिप्रोपेत्रोभ्स्क क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु र १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
यसैबिच, रुसले पनि युक्रेनबाट ठुलो सङ्ख्यामा ड्रोन आक्रमणको सामना गरेको छ । मस्कोका मेयर सर्गेई सोबियानिनका अनुसार रातभर राजधानीतर्फ करिब ६०० युक्रेनी ड्रोन प्रहार गरिएका थिए । तीमध्ये करिब एक तिहाइ ड्रोन नष्ट गरिएको उनको दाबी छ ।
मस्कोबाट करिब २५ किलोमिटर टाढा कोलेदिनोमा रहेको रुसी अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजको गोदाम पनि ड्रोन आक्रमणमा परेको सोबियानिनले बताएका छन् । घटनापछि गोदाममा ठुलो आगलागी भएको र आकाशमा बाक्लो धुवाँ देखिएको थियो । आक्रमणमा रुसतर्फ तीन जना घाइते भएको बताइएको छ । एजेन्सी




प्रतिक्रिया