दोरम्बा हत्याकाण्डका शहीदको सपना अझै अधुरो, पूरा गर्न संघर्ष आवश्यक : नारायणकाजी श्रेष्ठ



रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा हत्याकाण्डका शहीदहरूले देखाएको समतामूलक, न्यायपूर्ण र समृद्ध नेपालको सपना अझै पूरा हुन नसकेको भन्दै त्यसलाई साकार पार्न सबै क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर संघर्ष गर्नुपर्ने बताएका छन्।

दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले शान्ति वार्ता चलिरहेका बेला राज्य पक्षबाट पक्राउ गरी निर्ममतापूर्वक हत्या गरिएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले शहीदहरूको बलिदानकै परिणामस्वरूप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, समावेशी लोकतन्त्र संस्थागत भएको र ऐतिहासिक राजनीतिक परिवर्तन सम्भव भएको बताए।

श्रेष्ठले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संविधानमार्फत संस्थागत गरिए पनि जनताले अपेक्षा गरेअनुसार सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित हुन नसकेको उल्लेख गरे। उनले राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक रूपान्तरणमा परिणत गर्न नसक्दा जनतामा असन्तुष्टि, निराशा र आक्रोश बढ्दै गएको बताए।

उनले भ्रष्टाचार, अनियमितता र दण्डहीनताविरुद्ध दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याउँदै जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने गरी राज्य सञ्चालन हुनुपर्ने धारणा राखे। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय परिवर्तन नभएसम्म शहीदहरूको सपना पूरा नहुने उनको भनाइ थियो।

श्रेष्ठले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथि विभिन्न प्रकारका चुनौती देखिएको दाबी गर्दै ती उपलब्धिहरूको रक्षा गर्न देशभक्त, लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए।



उनले दोरम्बा हत्याकाण्डका शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली दिन उनीहरूले देखाएको समाजवादउन्मुख समृद्ध नेपाल निर्माणको लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो स्थानबाट संघर्ष, समर्पण र जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए।