काठमाडौं, भदौ १ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग राखेका माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। संघको निर्णयअनुसार काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका म्यानपावर कम्पनी तथा शाखा कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी सेवा ठप्प हुनेछन्।
संघले नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट तथा रिक्रुटिङ प्रक्रियासहित वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने जनाएको छ। यससँगै पूर्वनिर्धारित श्रमिकका उडानसमेत प्रभावित हुने भएका छन्।
सरकारले व्यवसायीका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै संघले चरणबद्ध आन्दोलन गर्दै आएको थियो। यसअघि नै व्यवसायीहरूले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका प्रक्रिया रोकिसकेका थिए।
संघले व्यवसायीमाथि भइरहेको कारबाही फिर्ता लिनुपर्ने, श्रमिकको पारदर्शी लागत र व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने, श्रम गन्तव्य मुलुकतर्फको हवाई भाडा घटाउनुपर्ने तथा कृत्रिम अभाव अन्त्य गर्नुपर्नेलगायत माग अघि सारेको छ।
संघका अनुसार आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको विषय हो। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने व्यवसायीहरूले बताएका छन्।
म्यानपावर व्यवसायीको यो निर्णयसँगै वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका हजारौँ नेपाली श्रमिकको प्रक्रिया प्रभावित हुने देखिएको छ। विशेषगरी भिसा प्राप्त गरिसकेका तर उडानको पर्खाइमा रहेका श्रमिकसमेत प्रभावित हुने सम्भावना छ।




प्रतिक्रिया