काठमाडौं । वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्री गौरीकुमारी यादवको पहलमा वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखाना लिमिटेडको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगन्ज चिनी कारखानाको अवस्था, विगतका निर्णय, कारखाना पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गठन गरेको कार्यदलले आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सीडीई श्रीकान्त यादव र सदस्यमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि छन् ।
कार्यदलले कारखाना सञ्चालन गर्ने/नगर्ने भन्ने विषयमा मात्र अध्ययन नगरी चिनी कारखानासम्बन्धी यसअघि भएका निर्णय तथा गठन भएका कार्यदलले पेस गरेका प्रतिवेदनका सुझाव र सिफारिसको अध्ययन गर्ने, कारखानाको वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्था विश्लेषण गर्ने र कारखानामा रहेका समस्याको पहिचान गर्ने जिम्मेवारी पाएको छ ।
कारखाना परिसरमा रहेका भवन, कारखाना संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोग गर्न सकिने अवस्था अध्ययन गर्नेछ । पुराना संरचना तथा मेसिनरीलाई प्रयोग गरेर कारखाना पुनः सञ्चालन गर्न सकिने वा नयाँ प्रविधि र संरचना आवश्यक पर्ने भन्ने विषयमा समेत कार्यदलले अध्ययन गर्ने मन्त्रालयले जनाएको छ ।
कारखानाको स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको अवस्थासमेत अध्ययन, सम्पत्तिसँग जोडिएका समस्या पहिचान गर्ने र त्यसको समाधानका लागि आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्पसमेत तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको मन्त्री यादवले बताएकी छन् ।




प्रतिक्रिया