सांसद देउवालाई पदमुक्त गरेपछि कांग्रेसले जनायाे आपत्ति


कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेस सांसद प्रकाश देउवालाई पदमुक्त गरेपछि आपत्ति जनाएका छन् ।

अस्थायी राजधानी धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहले सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् । ११ महिनादेखि अमेरिकामा रहेका कांग्रेस सांसद देउवालाई सभामुख भीम भण्डारीले हिजो पदमुक्त गरेका थिए ।

मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने तयारी गरिरहेका बेला त्यसलाई प्रभावित पार्ने उद्देश्यले कांग्रेस सांसद देउवालाई पदमुक्त गरिएको शाहको जिकिर छ ।

‘आज विश्वासको मतका लागि सरकारले तयारी गरेको छ । सोही तयारीलाई सहज बनाउन सभामुखज्यूले प्रकाश देउवालाई एक्कासि पदमुक्त गर्नुभयो,’ शाहले भने, ‘सभामुखले पक्षपाती निर्णय गर्नुभयो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’