३ वर्षीया बालिकाको बलात्कारपछि हत्या


रौतहट । बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ ।

प्रहरीका अनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको हो । साउन ३१ गते बिहान ८:३० बजे घरबाट हराएकी जितपुरसिमरा–१ दसधुरी निवासी मनमती चौधरीकी छोरी गरिमाको शव मंगलबार साँझ करिब ५:४५ बजे स्थानीय वीरबहादुर रोकाको खाली घरभित्र फेला परेको थियो ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा सोको सहितको टोली घटनास्थलमा पुगेको थियो ।

ना.१.ज ७७५८ नम्बरको म्याजिकको सह चालक जितपुरसिमरा–२ बस्ने करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाईफुल्याई घटनास्थलमा लगेको र त्यहाँ जबर्जस्ती करणी गरी हत्या गरेको खुलेकाे प्रहरीले जनाएकाे छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा तथा ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसैबीच , दोषीलाई कडा कारबाही गर्न माग गर्दै स्थानीयवासीले बुधबार पथलैया-वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्।