सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच प्रदेश सरकारको भागबन्डामा सहमति जुटेको छ । बुधवार सत्ता सहकार्यका लागि दुई पार्टीका प्रदेश संसदीय दलबीच ६ बुँदे सहमति जुटेको हो ।
सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बाहेक तीन मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने भएका छन् ।
नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिनेछ ।
त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।
नयाँ नीति, कार्यक्रम, मनोनयन र नियुक्तिका सन्दर्भमा दुवै दलबीच आपसी सहमति भएपछि मात्र प्रक्रिया अगाडि बढाइने सहमति भएको छ । प्रदेश सरकारलाई सुशासन, मितव्ययिता र पारदर्शीता कायम हुने गरी सञ्चालन गरिने सहमति पत्रमा उल्लेख छ ।





प्रतिक्रिया