बालिकाको बलात्कारपछि हत्या: प्रहरीको गम्भीर लापरबाही रहेको रास्वपा सांसदकाे आराेप


काठमाडौँ। बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चाैधरीको बलात्कारपछि हत्या भएको छ । यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बालिकाको बलात्कारपछि हत्या हुनुमा प्रहरीको गम्भीर लापरबाही रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समयमा सांसद अन्सारीले यस्तो बताएका हुन् ।

इलाका प्रहरी कार्यालय सिमराको अकर्मण्यताका कारण एउटी निर्दोष बालिकाले ज्यान गुमाउनुपरेको उनले दाबी गरे । ‘इलाका प्रहरी कार्यालय सिमराको लापरबाहीका कारण ३ वर्षीया बालिकाको हत्या भएको छ । यो प्रहरीहरूको नालायकीपनको पराकाष्ठा हो’ उनले भने ।

सांसद अन्सारीले प्रहरीको अनुसन्धान प्रक्रियामाथि पनि प्रश्न उठाए । उनले भने,‘ प्रहरीले छिनछिनको घटनाको अपडेट दिन सक्नुपर्छ । स्थानीय वा अरूले शव फेला पारेपछि मात्रै कुकुर र प्रहरी पुगेर हामीले छानबिन गर्दै छौँ भन्नुको कुनै तुक छैन । यसरी अरूले पत्ता लगाएपछि मात्रै पुग्ने प्रहरीलाई छानबिन गर्दै छौँ भन्ने अधिकार छैन।’

सांसद अन्सारीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।