मन्त्री र सांसदसँग सभापति रविकाे सामूहिक छलफल, के दिए निर्देशन ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग सामूहिक छलफल गरेका छन् ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा करिब ३ घण्टा लामिछानेले छलफल गरेका हुन् । छलफलमा रविले निर्देशन दिँदै भने ,‘आफ्ना गुनासो र समस्या संयमित भएर पार्टी तथा संसदीय दलमा मात्र राख्नुस् ।’

छलफलमा उपस्थित सांसद र मन्त्रीहरु सबैले आ–आफ्ना समस्या र गुनासा राखेका थिए । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले आफूलाई सांसदले सोधेका प्रश्नको जवाफ दिएको सांसद लिमा अधिकारीले जानकारी दिइन् ।

सरकार गठन भएको चार महिनामै जनअसन्तुष्टि बढ्न थालेपछि रविले मन्त्री र सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि मंगलबार निर्देशन दिएका थिए ।

छलफलका क्रममा सांसदहरूले विशेषगरी गृह, शिक्षा, कृषि, उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका कामकारबाहीबारे प्रश्न उठाएका थिए ।

जवाफमा गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए । सरकारले कारबाही प्रक्रिया अगाडि बढाए पनि अदालतका कारण दोषी उम्किएको उनले बताए ।

मन्त्री र सांसदहरूको कुरा सुनेपछि सभापति रवि लामिछानेले यो अनौपचारिक बैठक मात्र भएकाले आगामी दिनमा संसदीय दलका नेतासहित नियमित छलफल राखेर गुनासा र समस्या व्यवस्थित रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।