वासिङटन डीसी । अमेरिकाको कूल कर्जा ४०० खर्ब डलरमाथि उक्लिएको छ । ऋणको आकारले पहिलो पटक यो स्तर नाघेको हो । सरकारी खर्च आम्दानीभन्दा निरन्तर बढी भइरहेका बेला यो स्तरमा पुगेको ऋणले अमेरिकाले गम्भीर वित्तीय सङ्कटको सामना गर्न सक्ने चिन्ता बढाएको छ ।
डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपतिको कार्यभार सम्हाल्दा सन् २०१७ जनवरीमा ऋणको आकार १९९ खर्ब ५० अर्ब डलर रहेको अमेरिकी अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ । त्यसयता ऋण बढेर दोब्बरभन्दा माथि उक्लिएको छ ।
सन् २०२० मा सुरु भएको कोरोना महामारी पछिका दुई वर्षमा बढेको झन्डै एक तिहाइ ऋण थपिएको छ । महामारी नियन्त्रण तथा आर्थिक राहतका लागि तत्कालीन ट्रम्प प्रशासन र त्यसपछि जो बाइडेन प्रशासनले ठुलो मात्रामा ऋण लिएर खर्च गरेका थिए ।
ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेर सन् २०२५ जनवरीमा पद सम्हालेयता मात्रै अमेरिकी ऋण ३८ खर्ब डलर थपिएको छ । उनका दुई कार्यकाललाई जोड्दा ऋण ११६ खर्ब डलरले बढेको छ ।
त्यस्तै, बाइडेनको कार्यकालमा अमेरिकी ऋण ८४ खर्ब डलरले बढेको थियो । महामारीपछिको आर्थिक पुनरुत्थानसँगै पूर्वाधार विकास, स्वच्छ ऊर्जामा अनुदान तथा अन्य सरकारी कार्यक्रमका लागि भएको ठुलो खर्चले ऋण बढाएको हो ।
अमेरिकी सङ्घीय कार्यक्रमहरूमा सरकारको आम्दानीभन्दा धेरै खर्च भइरहेको केन्द्रीय विचारधारा भन्दा बाहिर रहेर नीति अध्ययन गर्ने बाइपार्टिसन पोलिसी सेन्टरकी प्रमुख कार्यकारी मार्गरेट स्पेलिङ्सले बताइन् । उनका अनुसार सङ्घीय बजेटका ठुला खर्चका क्षेत्रहरू निरन्तर बढिरहेका छन् ।
४०० खर्ब डलरको ऋणलाई अमेरिकी जनसङ्ख्या माझ बाँड्दा प्रत्येक अमेरिकीको टाउकोमा झन्डै १ लाख १७ हजार डलर पर्छ । हरेक परिवारलाई सरदर बाँड्ने हो भने यो २ लाख ९७ हजार डलर हुन्छ । एजेन्सी




प्रतिक्रिया