रास्वपा सांसद खगेन्द्र सुनार भन्छन्- समाज कल्याण परिषद् सबैभन्दा बदनाम संस्था


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बदनाम संस्था भएको बताएका छन् । बिहिबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा भएको छलफलमा उनले समाज कल्याण परिषद्मा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले प्राप्त गर्ने रकम, सञ्चालन गर्ने कार्यक्रम र त्यसबाट लक्षित समुदायले पाएको लाभको प्रभावकारी अनुगमन हुनुपर्नेमा त्यसो नभएको आरोप लगाए ।

विशेषगरी दलित, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायका नाममा आउने वैदेशिक सहयोग वास्तविक लक्षित समुदायसम्म नपुग्ने गरेको उनले बताए । कार्यक्रम सञ्चालन, तालिम र प्रशासनिक खर्चका नाममा रकम खर्च हुने तर त्यसको प्रत्यक्ष परिणाम भने नदेखिएको उनको भनाइ छ ।

जात, धर्म वा समुदायका नाममा सामाजिक विभाजन बढाउने गतिविधिलाई वैदेशिक सहयोग वा सरकारी स्वीकृतिको आडमा सञ्चालन गर्न नहुने उनले बताए । उनले दलित तथा गरिब समुदायका लागि विनियोजित बजेट कार्यान्वयनमा सरकारी निकायले देखाउने ढिलाइप्रति पनि असन्तुष्टि जनाए ।