तीन वर्षीया बालिकाको हत्या: सरकार मौन, न्यायकाे माग गर्दै बारा पुगे ऋषि धमला


बारा । जीतपुर-सिमरा उपमहानगरपालिका–१ स्थित तीन वर्षीया बालिका गरिमा चौधरीको क्रूर बलात्कारपछि हत्या भएको घटनाले देशैभर आक्रोशको ज्वाला पैदा भएका बेला स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमला आफैँ अग्रपंक्तिमा मैदानमा उत्रिएका छन्। पीडित परिवारलाई न्याय दिलाउन र अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै धमला घटनास्थल बारा पुगेका हुन् ।

घटनास्थल पुगेर पीडित अध्यक्ष धमलाले बालिकाको बलात्कारपछि हत्याको घटनाले देशैभरका नागरिकको मुटु छियाछिया भएको बताए।


‘गरिमा चौधरीको बलात्कार गरी हत्या गरिएको यो जघन्य अपराधमा तीन करोड नेपाली नागरिकको मन रोएको छ,’ भावुक हुँदै धमलाले भने, ‘म तपाईँलाई न्याय दिलाउन यहाँ आएको हो, कसैसामु झुक्दिनँ। निष्पक्ष छानबिन होस्, दोषीमाथि कडा कारबाही होस् र आवश्यक परे ऐन कानुन परिवर्तन गरेर भए पनि फाँसीको व्यवस्था गरियोस्।’

धमलाले आफ्नै शैलीमा गृहमन्त्री सुधन गुरुङलाई घटनास्थलमा आउन आग्रह गरे। ‘गृहमन्त्रीज्यू ! यहाँ आउनुस्, पीडितहरूको चित्कार र रोदन सुन्नुस्,’ धमलाले भने, ‘नियम–कानुन संशोधन गरेर भए पनि यस्ता बलात्कारी र हत्यारालाई फाँसी दिने व्यवस्था गर्नैपर्छ। स्थानीयको यो मागमा मेरो पूर्ण साथ छ।’

यसैबीच , घटना भएको ४ दिन बित्दासमेत सरकारले कुनै चासो नदिएको स्थानीयले आरोप लगाएको छ । उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङप्रती घटनामा ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।