काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले आगामी १० देखि १५ वर्षमा नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो फड्को मार्ने दाबी गरेका छन्। उनले अटोमोबाइल क्षेत्रले आगामी दिनमा राज्यलाई ठूलो राजस्व योगदान गर्नुका साथै रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ नाडा अटो शो २०२६ को पूर्वसन्ध्यामा नाडा कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उप्रेतीले यस्तो बताएका हुन्।
उनका अनुसार १८औँ नाडा अटो शो केवल नयाँ सवारीसाधन तथा प्रविधि प्रदर्शन गर्ने कार्यक्रम मात्र नभई नेपालमै उत्पादन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सन्देश दिने अवसरसमेत हो।
“१८औँ संस्करणले नेपालमै उत्पादनमा जोड दिनुपर्छ भन्ने सन्देश दिन्छ,” उनले भने, “हरेक संस्करणमा हामीले नयाँ–नयाँ कुरा दिने प्रयास गरेका छौँ। यसपटक पनि नेपाली अटोमोबाइल क्षेत्रको सम्भावना र आगामी दिशालाई देखाउने प्रयास गरेका छौँ।”
अध्यक्ष उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रको सम्भावना अझै ठूलो रहेको बताए। सडक पूर्वाधारको विस्तार, विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, नयाँ प्रविधिको प्रवेश तथा स्वदेशमै उत्पादनको सम्भावनाले आगामी दिनमा यो क्षेत्र थप विस्तार हुने उनको भनाइ छ। “अबको १०/१५ वर्षमा अटोमोबाइलले नेपालमा ठूलो फड्को मार्नेछ। यसले राज्यलाई ठूलो राजस्व दिनेछ र रोजगारीको समेत ठूलो व्यवस्था गर्नेछ,” उप्रेतीले भने।
अध्यक्ष उप्रेतीले बजारमा विभिन्न प्रकारका सवारीसाधन तथा सुविधाहरू उपलब्ध रहेकाले केवल आकर्षक फिचर्स वा देखासिकीका आधारमा भन्दा आफ्नो आवश्यकता, बजेट, प्रयोग हुने सडक, परिवारको आकार र सवारीसाधनको उपयोगितालाई ध्यान दिएर गाडी खरिद गर्नुपर्ने बताए। “गाडी किन्नुभन्दा अगाडि आफ्नो आवश्यकता हेरेर किन्नुपर्छ,” उनले भने, “आफूलाई वास्तवमा कस्तो गाडी आवश्यक छ भन्ने कुरा बुझेर मात्र निर्णय गर्नु उपयुक्त हुन्छ।”
भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो
नाडाले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्दैछ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन्।
प्रदर्शनीमा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधन ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको सहभागिता रहनेछ। यसका अतिरिक्त पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनी तथा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
नाडाका अनुसार पाँच दशकको यात्रामा नेपाली अटोमोबाइल क्षेत्र आयात र बिक्रीबाट विस्तार हुँदै रोजगारी, राजस्व, प्रविधि र हरित गतिशीलताको महत्वपूर्ण क्षेत्रका रूपमा विकास भएको छ। १८औँ नाडा अटो शोले यही परिवर्तनसँगै आगामी दिनमा नेपालमै उत्पादन र अटोमोबाइल क्षेत्रको थप विस्तारका लागि नयाँ सम्भावनालाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया