गरिमाका आमा-बुबाको एउटै माग–‘छोरीलाई जस्तो अरूलाई नहोस्, दोषीलाई फाँसी होस्’ : ऋषि धमला


काठमाडौँ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवार र स्थानीयवासीले दोषीलाई कडा सजायको माग गरेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै शुक्रबार माइतीघरमा प्रदर्शन भएकाे छ ।

प्रदर्शनमा सहभागी वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले गरिमाका आमाबुबाले आफूहरूसँग छोरीको हत्यारालाई फाँसी दिनुपर्ने माग गरेको बताएका छन्। धमलाले बुधबार बारामै पुगेर गरिमाका आमाबुबासँग भेट गरेको जानकारी दिँदै उनीहरूको पीडा र माग सरकारसमक्ष पुर्‍याउन आफू निरन्तर लागिरहेको बताए।


‘गरिमाका आमाबुबाले हामीलाई सरकारबाट रोजगारी वा अन्य सुविधा चाहिँदैन भन्नुभएको छ। उहाँहरूको एउटै कुरा छ– मेरी छोरीलाई जे भयो, त्यो अरू कसैको छोरीलाई नहोस्। यस्तो अपराध गर्ने अपराधीलाई फाँसी दिनुपर्छ,’ धमलाले भने।


धमलाले गरिमा अत्यन्तै सानी र अबोध बालिका रहेको भन्दै घटनाले आफूलाई समेत भावुक बनाएको बताए। ‘गरिमा नाबालिका छोरी थिइन्। राम्रोसँग बोल्न पनि सक्दिनथिइन्। त्यस्ती अबोध बालिकामाथि यस्तो जघन्य अपराध भएको छ,’ उनले भावुक हुँदै भने ।


धमलाले संविधान संशोधन गरेर भए पनि बलात्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्नुपर्ने माग दोहोर्‍याए। उनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई घटनालाई गम्भीरतापूर्वक लिएर पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरे।