काठमाडौं । रामेछापबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले आफूले पारदर्शी र उत्तरदायी ढंगले जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेको बताएका छन्।
सनिवार काठमाडौंको जडिबुटीस्थित क्लासिकल दरबारमा आयोजित ‘जनतासँग जनप्रतिनिधि भेटघाट कार्यक्रम’ मा बोल्दै उनले आफ्नो तर्फबाट विकास निर्माणसँगै नीति निर्माणका क्षेत्रमा निरन्तर काम गरिरहेको बताए।
उनले राजनीतिलाई सुसंस्कृत बनाउँदै जनप्रतिनिधिले आफ्नो कर्तव्य र दायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु र सरकार निर्माणमा भूमिका खेल्नु रहेको बताए।
अर्थ समितिको सभापतिको हैसियतमा आवश्यक नीति, नियम तथा विधेयकलाई अगाडि बढाउन आफू सक्रिय रहेको उनको भनाइ छ ।
उनले रामेछापका समस्या आफूले संसदमा निरन्तर उठाउँदै आएको बताए । ‘करिब–करिब प्रत्येक संसद् बैठकमा रामेछापका समस्या सदनमा उठाइराखेको छु,’ उनले भने।

रामेछापमा देखिएका विभिन्न समस्या समाधानका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित मन्त्रालयहरूमा माग तथा प्रस्तावपत्र बुझाइसकेको पनि उनले जानकारी दिए। अन्य आवश्यक क्षेत्रका लागि समेत सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले केही योजनामा बजेट विनियोजन भई कार्यान्वयनको चरणमा अघि बढिसकेको बताए।

कार्यक्रममा रामेछापका विभिन्न स्थानबाट सहभागी नागरिकहरूले आफ्ना वडाका विकास निर्माण, पूर्वाधार, बजेट तथा स्थानीय समस्याबारे सांसद बुढाथोकीसँग जिज्ञासा राखेका थिए। सहभागीहरूले सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत स्थानीय आवश्यकताका विषयमा उनलाई ध्यानाकर्षण गराएका थिए।




प्रतिक्रिया