गरिमालाई न्याय माग्दै शान्तिवाटिकामा महिलाको धर्ना, ऋषि धमलाले पनि जनाए ऐक्यबद्धता !


काठमाडौँ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा महिलाहरू धर्नामा बसेका छन्।


गरिमालाई न्याय र दोषीलाई कडा सजायको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।


धर्नामा सहभागीहरूले ‘कानुन मन्त्री हाजिर हो–हामीलाई जवाफ चाहिन्छ’, ‘आमाहरू जागिसके–अब हामी सहन्नौँ’, ‘बलात्कारीलाई फाँसी दे’, ‘चिल्ला सडक चाहिँदैन–बलात्कार गर्न पाइँदैन’ लगायतका नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।


धर्नामा ऐक्यबद्धता जनाउन वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला, अभिनेत्री तथा धमलाकी पत्नी एलिजा गौतमलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू पनि सहभागी भएका छन्।


धमलाले गरिमा चौधरीको हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई कडा सजाय दिनुपर्ने आफ्नो माग दोहोर्‍याएका छन्। उनले संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुजर्ने बताए ।

धर्नामा सहभागी महिलाहरूले बालिका तथा महिलामाथि हुने हिंसा अन्त्यका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनापछि देशका विभिन्न ठाउँमा न्यायको माग गर्दै प्रदर्शन भइरहेका छन्।