गरिमालाई न्याय माग्दै आमाहरूको धर्ना,धमलाले भने– ‘नारी जागेपछि कसैले रोक्न सक्दैन’


काठमाडौँ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कडा कारबाहीको माग गर्दै रत्नपार्कस्थित शान्तिवाटिकामा महिलाहरू धर्नामा बसेका छन्। धर्नामा ऐक्यबद्धता जनाउन वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला पनि पुगेका छन्।

धर्नास्थलमा पुगेर धमलाले गरिमालगायत छोरीहरूको सुरक्षाका लागि अब आमाहरू जागिसकेको बताए। महिलाहरू जागेपछि कुनै पनि शक्तिले उनीहरूको आवाज रोक्न नसक्ने उनको भनाइ थियो।
‘छोरीहरूको रक्षाका लागि आमाहरू जागेका छन्। नारीहरू जागेपछि कसैले रोक्न सक्दैन,’ धमलाले भने, ‘महिला अगाडि बढेका आन्दोलनहरू सफल भएका छन्।’

गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई मृत्युदण्ड दिनुपर्ने आफ्नो माग धमलाले दोहोर्‍याए। संविधान र कानुन संशोधन गरेर भए पनि बलात्कारीलाई फाँसी दिनुपर्ने उनको भनाइ छ ।

गृहमन्त्री सुधन गुरुङले आज(बिहान) सामाजिक सञ्जालमार्फत मृत्युदण्डको सजाय दिन विद्यमान कानुन बाधक रहेको बताएका थिए। गृहमन्त्रीको उक्त भनाइप्रति प्रतिक्रिया दिँदै धमलाले कानुन बाधक भए त्यसलाई संशोधन गर्नुपर्ने बताए।
‘जेनजीले २८ घण्टामा सरकार ढाल्न सफल भयो। कानुन बाधक भए अब संशोधन गर्नुपर्‍यो, गृहमन्त्रीज्यू,’ धमलाले भने।

उनले राज्यले कानुनको सीमालाई देखाएर जघन्य अपराधका दोषीलाई कठोर सजायबाट उन्मुक्ति दिन नहुने बताए। बालिका तथा महिलामाथि हुने हिंसा रोक्न कानुनलाई समयअनुकूल बलियो बनाउनुपर्ने उनको भनाइ छ।

धर्नामा अभिनेत्री तथा धमलाकी पत्नी एलिजा गौतमलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। सहभागी महिलाहरूले गरिमालाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए।