कूटनीतिक दौडधुपमा रास्वपा: रविको चीन यात्रा टर्‍यो, स्वर्णिम दिल्ली उड्दै


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण हाललाई स्थगित भएको छ।

उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साताका लागि तय गरिएको लामिछानेको चीन भ्रमण यसअघि नै करिब एक महिना पछि सारिएको थियो। तर अब सेप्टेम्बर दोस्रो सातामा समेत उनको चीन भ्रमण नहुने भएको छ।

लामिछानेको भ्रमण स्थगित भएपछि रास्वपाका सांसदहरूको टोली भने चीन जाने तयारीमा रहेको स्रोतले जनाएको छ। यद्यपि, सांसदहरूको भ्रमणको विस्तृत कार्यक्रमबारे थप जानकारी सार्वजनिक गरिएको छैन।

यसअघि भारत भ्रमणपछि लामिछानेले चीन भ्रमण गर्ने तयारी गरिएको थियो। तर निर्धारित समयअनुसार भ्रमण हुन नसकेपछि अहिलेका लागि उनको चीन भ्रमण अनिश्चित बनेको छ। सरकारी स्रोतका अनुसार लामिछानेले भविष्यमा उपयुक्त समयमा चीन भ्रमण गर्ने सम्भावना भने कायमै छ। तर त्यसका लागि नयाँ मिति भने तय भइसकेको छैन।

सरकारी स्रोतका अनुसार, सभापति लामिछानेको चीन भ्रमण पूर्ण रूपमा रद्द भने भएको होइन। भविष्यमा दुवै पक्षलाई अनुकूल हुने उपयुक्त समयमा नयाँ मिति तय गरी भ्रमण हुने सम्भावना अझै कायमै छ।

यसैबीच, रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय पक्षका उच्च तहका अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ। लामिछानेको चीन भ्रमण स्थगित हुनु र अर्थमन्त्री वाग्लेको भारत भ्रमणको तयारी हुनुलाई रास्वपाको पछिल्लो अन्तर्राष्ट्रिय राजनीतिक तथा कूटनीतिक सक्रियताका रूपमा हेरिएको छ।