‘जेनजी विद्रोह नभएको भए बालेन आज पनि काठमाडौंको मेयरमै हुन्थे’ : ऋषि धमला


काठमाडौँ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जेनजी विद्रोह नेपालमा मात्रै नभई विश्वकै लागि उदाहरणीय घटना भएको बताएका छन्। जेनजी आन्दोलनकै कारण २८ घण्टामै दुई तिहाइ बहुमतको सरकार ढलेको उनले बताए।

आइतबार जेनजी सहिद परिवार कल्याणकारी समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी धमलाले जेनजी आन्दोलनको बलमा देशमा राजनीतिक परिवर्तन आएको दाबी गरे ।

धमलाले प्रधानमन्त्री बालेन शाहले जेनजीप्रति सम्मान व्यक्त गरेको आफूलाई जानकारी नभएको टिप्पणी गरे।
‘प्रधानमन्त्रीले जेनजीप्रति सम्मान गरेको मलाई थाहा छैन। म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु– प्रधानमन्त्रीज्यू, तपाईंलाई जेनजीहरूले नै प्रधानमन्त्री बनाएका हुन्,’ धमलाले भने।

उनले जेनजी आन्दोलनकै कारण बालेन शाह प्रधानमन्त्री बन्न सफल भएको बताए । ‘जेनजी आन्दोलन नभएको भए तपाईं यो देशको प्रधानमन्त्री बन्न सक्नुहुन्नथ्यो। तपाईंलाई प्रधानमन्त्री बनाउने कुनै विदेशी शक्ति वा आन्तरिक शक्ति होइन, जेनजीहरूको जनविद्रोह हो,’ धमलाले भने।

जेनजीहरूले विद्रोह नगरेको भए बालेन शाह अझै पनि काठमाडौं महानगरपालिकाको मेयरकै भूमिकामा रहने उनको भनाइ थियो।