तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका प्रधानमन्त्री शाह काठमाडौं फर्किंदै


काठमाडौं, भदौ ८ । प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेकामा आज काठमाडौं फर्किने भएका छन्। शुक्रबार पोखरा आएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए।

आइतबार मुस्ताङबाट फर्किएका उनी पोखरामै बास बसेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। ‘प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले हामीलाई पनि धेरै जानकारी छैन’, उनले भने, ‘आज उहाँ पोखरामै रहनुभएको छ, सोमबार काठमाडौँ फर्कनुहुन्छ।’

प्रधानमन्त्री शाह काठमाडौँदेखि सडक मार्ग हुँदै मुस्ताङ पुगेर फर्किएका हुन्। उनले शनिबार मुक्तिनाथ मन्दिर दर्शनसमेत गरेका थिए। निजी भ्रमण भएकाले प्रधानमन्त्री सरिक हुने कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बसेका प्रधानमन्त्री शाह आइतबार पनि पोखराकै एक रिसोर्टमा बसेको बताइएको छ। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शुक्रबार निजी भ्रमणमा निस्किएका थिए।