सरकारले निजी क्षेत्रलाई प्राेत्साहन गरेन : अध्यक्ष श्रेष्ठ


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई सरकारले प्रोत्साहन नगरेका टिप्पणी गरेका छन् ।

आइतबार इक्यानले मेरियट होटलमा आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सरकारले निजी क्षेत्रलाई विकासको साझेदार भनेपनि व्यवहारमा त्यस्तो नभएको बताएका हुन् ।

राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोपलगायत विभिन्न चुनौतीका बीच पनि व्यवसायीले निरन्तर काम गर्दै आएको उल्लेख गर्दै उनले सरकारले गरेका पछिल्ला घटनाक्रमले निजी क्षेत्र र युवालाई थप त्रसित बनाएको बताए ।

उनले अहिलेको प्रमुख आवश्यकता निजी क्षेत्रसँग विश्वासको सम्बन्ध निर्माण गर्नु रहेको बताए । “समस्या थुप्रै छन् तर सबैभन्दा पहिलो कुरा त निजी क्षेत्रलाई विश्वास गर्नुपर्‍यो, निजी क्षेत्रको कन्फिडेन्स बढाइदिनुपर्‍यो,” उनले भने ।

निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोण राखेर देशको आर्थिक विकास सम्भव नहुने श्रेष्ठको भनाइ छ । सरकारले आफैं उद्योग सञ्चालन गरे पनि निजी क्षेत्रलाई कसरी अघि बढाउने भन्ने स्पष्ट नीति आवश्यक रहेको उनले बताए ।